प्रचिनकाल देखिनै परम्परा र संस्कृति स्थानिय जाति वर्गहरुको जिवनशैलिको अभिन्न अंगको रुपमा रहि आएको पाईन्छ। यस्ले समय परिवर्तनका साथ साथै पालुवा हाली परिष्कृत हुंदै आएको देखिन्छ। परिणाम स्वरुप बिभिन्न जनजातिको वासस्थानको रुपमा रहेको यस देशको विभिन्न भागमा कलात्मक प्राचिन स्मारक तथा मनमोहक विविध सांस्कृतिक सम्पदाको अस्तित्व कायम हुन आएको छ । यि संपदाहरुको संरक्षण र अपनत्वको महत्व एक पछी अर्को पुस्ताले पुख्र्यौली रुपमा ग्रहण गर्दै आएको हुन्छ । यस्ता संपदाहरु प्रति स्नेह र संरक्षणको भावना प्राकृतिक रुपमै त्यहि क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाहरुमा प्रचुर मात्रामा रहेको हुन्छ । पूर्व अनुभवहरुबाट प्रमाणित भईसकेको छ प्राचिन संपदाको दिगो र किफायती खर्चबाट संरक्षण र संभार सम्बन्धि व्यवस्था केवल स्थानिय जनसमूदायको चेतना अभिबृद्धी गरी उत्तरदाईत्व प्रदान गरि ब्यापक रुपमा परिचालन गरिएको खण्डमा मात्र निश्चित रुपमा प्रभावकारी हुन्छ भनेर । यिनिहरुकै पूर्वजले यस्ता अभुतपूर्व कलाको सृजना गरेका हुन् ।
नेपालका उच्चपदस्थ निति निर्माता हस्तीहरुलाई समेत यस तथ्यको पूर्व जानकारी नभएको हैन । यसका बाबजुद उहांहरु पहिले देखि आफुले हैकम जनाई आएको अधिकार छाड्न सहमत हुनु हुन्न । अन्यथा अब धेरै स्थानिय निकायहरु सम्पदाहरुको सुरक्षा र यिनीहरुको श्रृजनात्मक उपयोग गर्ने सम्पूर्ण उतरदायित्व बहन गर्न पूर्व रुपमा सक्षम भई सकेका छन् । बर्तमान परीप्रेक्षमा सम्पदा संरक्षण सम्बन्धि सम्पूर्ण अधिकार सरकारको केन्द्रिय निकायको रुपमा रहेको पुरातत्व बिभागमा निहीत छ । स्थानिय र्सव साधारण बासिन्दाद्वारा निर्बाचित जाप्रतिनीधीले प्रतिनिधीत्व गरीएका निकाय नगरपालिका र गाउं बिकास समितिलाई आफ्नो क्षेत्र भित्र पर्ने प्राचनि सम्पदाको संरक्षण र सदुपयोग गर्ने कुनै अधिकार छैन । प्रचलित कानूनी प्रावधान बमोजिम नगरपालिकाहरुले स्मारक क्षेत्र भित्र परम्परागत जात्रा पर्बहरु संचालन गर्न समेत पूरातत्व बिभागबाट औपचारीक स्विकृती प्राप्त गर्नु अनिबार्य छ ।
त्यसमाथि स्थानिय स्वायत्त शासन ऐनमा भने नगर क्षेत्र भित्रमा सम्पुर्ण धार्मिक, सांकृतिक महत्वका स्मारकहरुको लगत तयार गर्ने र मर्मत संभार कार्य नगरपालिकाको दायित्व हुने उल्लेख छ । यो प्रावधान काठमाडौ, ललितपूर र भक्तपूरका नगरपालिकाहरु वाहेक अन्य नगरपालिकाहरुलाई उपयूक्त हून आउंछ । किनभने यी तिनवटै नग-पालिकाहरुमा रहेका प्रमूख स्मारकहरु प्राचिन सम्पदा क्षेत्र र विश्व सम्पदा स्थल भित्रै पर्दछन् जस्को हकदार पूरातत्व विभाग रहि आएको छ ।
पाटन सम्पदा क्षेत्र पाटन शहरको भित्री भागलाई नै अनन्तताको संज्ञा दिन सकिन्छ । यो शहर जीवन्त अभिलेखालय हो । २००० वर्षभन्दा अगाडी उपत्यकाको यस पहिलो नगरको स्थापनाकाल देखिनै यस नगरका विविध जातीहरुले यूक्त स्थानिय जनसमूदायले काष्ठ, प्रस्तर धातूका उदाहरणीय वेजोड कारीगरीको परम्परागत सीपलाई अविच्छीन्न रुपमा सम्हाल्दै आएका छन् । स्थानिय वासिन्दाहरुले विभिन्न प्रकारका परम्परागत प्राचिन वाजागाजा, नाचहरु, नाटक र चाडपर्वहरुलाई सयौं वर्षअघि आफ्ना पुर्खाहरुले प्रदर्शन गरे जस्तै दूरुस्तै उहि प्रकारले प्रदर्शन गर्दै आएका छन् । पाटन दरवार लगायत नगर भरी छरिएर रहेका अनेकौं विहारहरु, मठमन्दिर, पाटी, डवली, धार्मिक भवनहरु र ढुंगेधाराहरु यस नगरका स्थानिय वासिन्दाहरुले हजारौं वर्षदेखि कायम गर्दै आएका गौरवशाली परम्परा, संस्कृती र कलाकारिताको ज्वलन्त प्रमाण हुन । |